तेजन खड्का
मोरङको उर्लाबारी–७ स्थित श्री राधिका माध्यमिक विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएका छन्। पीडित बालिकाहरूको बयानपछि सार्वजनिक भएको घटनाले अभिभावक, स्थानीय बासिन्दा तथा नागरिक समाजलाई चकित बनाएको छ।

बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत जेठ ३० गते विद्यालयमा गरिएको नियमित अनुगमनको क्रममा बालिकाहरूले शिक्षकविरुद्ध गम्भीर आरोप लगाएका थिए। अनुगमन टोलीसँगको अन्तरक्रियामा कक्षा ‘ङ’ भन्दा माथि पढ्ने केही छात्राहरूले शिक्षकले विगत दुई वर्षदेखि गोप्य अंग छुनु, कक्षा बन्द गरेर राख्नु, फरक खोल्न लगाउनु, मानसिक दबाब दिने जस्ता यौनजन्य क्रियाकलाप गर्दै आएको बताए।

उक्त विवरणसहितको प्रतिवेदन अनुगमन टोलीले नगरपालिकामा बुझाएको थियो। प्रतिवेदनपछि उर्लाबारी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्रसहित मेलमार्फत कारबाहीका लागि जानकारी दिएको बताइएको छ। तर, प्रशासन प्रमुख ईन्द्र देव यादवले भने आफूलाई उक्त घटनाबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

यसबीच, आरोपित शिक्षकले असार २ गते विद्यालयमा राजीनामा बुझाएका छन् र विद्यालयले सो राजीनामा स्वीकृत गरिसकेको प्रधानाध्यापक सुवास सापकोटाले जानकारी दिए। शिक्षक झापा जिल्ला दमक नगरपालिकाका स्थायी बासिन्दा हुन् र राधिकामा निम्न माध्यमिक तहमा कार्यरत थिए।

स्थानीय समाज, अभिभावक र नागरिक अगुवाहरूले शिक्षकको राजीनामा मात्र पर्याप्त नभई पीडित बालिकाहरूलाई न्याय र सुरक्षा सुनिश्चित गर्न राज्य गम्भीरतापूर्वक अघि बढ्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय