उर्लाबारी ।”आफ्नै देशको उत्पादन हाम्रो शान, कृषिमा उन्नति हाम्रो अभियान” भन्ने नाराका साथ नेपाल किसान महासंघ कोशी प्रदेश समितिको आयोजनामा २१औं राष्ट्रिय धान दिवस भव्य रुपमा मनाइएको छ।

उर्लाबारी ६ स्थित खानेपानी कार्यालय उत्तर आईतवार भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेशका सह-महामन्त्री खड्ग फागो रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिम्सिनाको रहेको थियो । कार्यक्रममा किसान, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले खेतमा धान रोपेर परम्परागत तरिकाले धान दिवस मनाएका थिए।

नेपाल किसान महासंघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र किसान एकताको आदर्श बोकेर प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ। यस वर्ष पनि कृषकहरूलाई सम्मान, उत्पादन प्रवर्द्धन र कृषि क्षेत्रमा जनचेतना अभिवृद्धिका लागि विविध कार्यक्रम गरिएका थिए।
कार्यक्रम आयोजक नेपाल किसान महासंघ, कोशी प्रदेश समितिले कृषकहरूको जीवनस्तर उकास्न यस्ता कार्यक्रम निरन्तर गर्दै जाने प्रतिबद्धता जनाएको छ।

