उर्लाबारी ,

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरेर मनाइँदैछ। भानुभक्त आचार्यले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवाद गरी नेपाली भाषामा ‘रामायण’ प्रस्तुत गर्नुभएको थियो, जुन अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ।

भानुभक्त आचार्यले विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्म लिनुभएको थियो। एक सामान्य घाँसीको प्रेरणाले उहाँलाई ‘रामायण’लाई नेपालीमा अनुवाद गर्न उत्प्रेरित गराएको थियो। उहाँले लेख्नुभएको ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायतका कृतिहरूले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकृत गर्नुभएको हो। सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ को विरोध गर्दै कवितामा उहाँले लेख्नुभएको “भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली” आज पनि प्रसिद्ध छ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले भानुभक्तलाई आदिकवि भन्नु न्यायोचित रहेको बताउनुहुन्छ। उहाँका अनुसार रामायण ग्रन्थले नेपाली भाषामा नयाँ युगको निर्माण गरेको छ।

भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा आज काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी आयोजना गरिएको छ। साथै, विभिन्न संस्थाहरूले पनि विविध कार्यक्रम गरी भानुजयन्ती मनाइरहेका छन्। भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी समुदाय रहेका स्थानहरूमा पनि भानुभक्तको जन्मजयन्ती विशेष कार्यक्रमसहित मनाइँदैछ।

यस अवसरमा भानुभक्तको ऐतिहासिक योगदानलाई स्मरण गर्दै नेपाली जातीय एकता, राष्ट्रिय पहिचान, र सांस्कृतिक चेतनालाई बलियो बनाउन उहाँको कृतित्व र व्यक्तित्वबारे छलफल एवं समीक्षात्मक कार्यक्रमको आवश्यकता रहेको समालोचकहरूले बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय