उर्लाबारी, । मोरङको उर्लाबारी नगरपालिकाले सहायक राजमार्गको सडक सौन्दर्यीकरण योजना अन्तर्गत २/२ मिटर क्षेत्रभित्र रहेका भौतिक संरचना हटाउन सूचना जारी गरेपछि संरचना हटाउने काम तीव्र बनेको छ। गत पुस १२ गते नगरपालिकाले प्रकाशित सूचनापछि अवैध रूपमा बनेका संरचना घरधनीहरूले आफैं भत्काउन सुरु गरेका हुन्।
नगरपालिकाले सौन्दर्यीकरण कार्यको पहिलो चरण अन्तर्गत site clearance का लागि यो कदम चालेको हो। सहायक राजमार्गको दुबै तर्फ ड्रेन बाहेकको क्षेत्रभित्र बनेका अनधिकृत संरचनाहरू हटाउन सूचना जारी गर्दै नगरपालिकाले स्वेच्छाले हटाउन आग्रह गरेको थियो।
सूचना अनुसार संरचना हटाउन नगरपालिकाले दिएको समयसीमा सकिनै लाग्दा घरधनीहरूले धमाधम संरचना हटाउन सुरु गरेका छन्। नगरपालिकाका अनुसार सौन्दर्यीकरण योजनाले सडकको व्यवस्थापन, सफाइ र सुन्दरतामा सहयोग पुग्नेछ।
नगर प्रमुख गंगा खरेलले भने, “नगरपालिकाको यो योजना व्यवस्थित र सुन्दर उर्लाबारी बनाउने उद्देश्यले अगाडि बढाइएको हो। अवैध संरचना हटाउन जनताले देखाएको सहकार्य प्रशंसनीय छ।”
स्थानीयहरू भने नगरपालिकाको यस कदमलाई समर्थन गर्दै अघि बढिरहेका छन्। स्थानीय व्यवसायी कुमार दाहालले भने, “नगरपालिकाको योजना सकारात्मक छ। यो योजनाले नगरको सौन्दर्य मात्र होइन, व्यवस्थित विकास पनि सुनिश्चित गर्नेछ।”
उर्लाबारी नगरपालिकाले सडक सौन्दर्यीकरणका लागि थप चरणहरू सार्वजनिक गर्ने तयारी गरेको छ।
यस योजनाले उर्लाबारीलाई व्यवस्थित र आधुनिक सहरका रूपमा विकास गर्न सहयोग पुर्याउने नगरपालिकाको विश्वास छ।

