उर्लाबारी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा बिहीबार अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल ठोक्किएर ४ः४५ बजेतिर उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोरङको पथरीशनिश्चरे नगरपालिका–५ का ३३ वर्षीय वर्षीय दीपक धिमाल र कानेपोखरी गाउँपालिका–४ रमाइलोका अन्दाजी २७/२८ वर्षीय किशोर गुरुङको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार उपचारका लागि धिमाललाई उर्लाबारीकै अरनिको अस्पताल र गुरुङलाई मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।

अस्पताल पुर्याउनसाथ दुवै जनालाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । कानेपोखरी–४ का अन्दाजी २५/२६ वर्षीय अमृत लिम्बू र पथरीशनिश्चरे–५ का ३७/३८ वर्षीय विष्णु धिमाल घाइते भएको एसपी चिमरियाले बताए ।

उर्लाबारीमा सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ । दुर्घटनामा परेर दुवै मोटरसाइकल क्षतिग्रस्त भएका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । मृतक र घाइतेहरुका आफन्त साँझसम्म प्रहरीको सम्पर्कमा पुगेका छैनन् । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय