उर्लाबारी । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलाडी’ भन्ने मूल नाराका साथ छैटौं उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता भोलि (वैशाख ३ गते) बाट सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक मंगलबारे फुटबल क्लबले जानकारी दिएको छ।

प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर ३ र वडा नम्बर ४ बीच प्रस्तावित सालबारी रंगशालामा हुनेछ। खेल संयोजक विजय माझीका अनुसार प्रतियोगितामा उर्लाबारी नगरपालिकाका सबै ९ वटै वडाको सहभागिता रहनेछ भने फाइनल खेल वैशाख १० गतेका दिन हुनेछ।

विजेता टिमले ७५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई सम्मान पनि गरिनेछ।

खेल व्यवस्थापन संयोजक राजन सुवेदीका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सोमध्ये उर्लाबारी नगरपालिकाबाट ३ लाख र अन्य सहयोगी दाता तथा संस्थाहरूबाट करिब २ लाख ६५ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।
प्रतियोगिताले नगर क्षेत्रका युवा खेलाडीहरूको प्रतिभा उजागर गर्न मद्दत गर्ने आयोजकको विश्वास छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय