उर्लाबारी | उर्लाबारी नगरपालिका–९ स्थित महाराजथानमा निर्माण सम्पन्न भएको नयाँ आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ। सो अवसरमा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) को प्रारम्भिक परीक्षण (स्क्रिनिङ) सेवा शुभारम्भ गरिएको छ।
उद्घाटन समारोहमा मातृत्व जोगाउने अभियान अन्तर्गत क्याम्पियन सी–क्यापकी सद्भावना दूत तथा मिस नेपाल २००५ सुगरिका केसी विशेष आतिथ्यका साथ सहभागी थिइन्। उनले स्क्रिनिङ शिविरको अवस्थिति अवलोकन गर्दै मातृस्वास्थ्यप्रति जनचेतना बढाउनुपर्नेमा जोड दिइन्।
स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले नगरपालिकाले स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण फड्को मारेको बताए। “समुन्नतिको पहिलो आधार नै स्वास्थ्य हो,” उनले भने, “स्वस्थ नागरिक बिना विकासको कल्पना गर्न सकिंदैन। त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राखेर हामी अगाडि बढिरहेका छौं।”
उक्त सेवा केन्द्र सञ्चालनमा आएसँगै वडा नं. ९ का साथै सीमावर्ती झापा जिल्लाको १० नं. वडा र रतुवामाई नगरपालिकाको वडा नं. १० का बासिन्दाले समेत स्वास्थ्य सेवा सहज रूपमा पाउने भएका छन्।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश खड्काका अनुसार ४८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो भवनमा अब दैनिक रुपमा एक जना सिनियर अहेब, एक अनमी र एक कार्यालय सहयोगी रहनेछन्।
यस्तै उनले सो सेवा केन्द्रबाट खोप सेवा, नवजात तथा बालरोग व्यवस्थापन, पोषण, गर्भवती तथा सुत्केरी सेवा, परिवार नियोजन, गर्भपतन सेवा, संक्रामक तथा नसर्ने रोगसम्बन्धी सेवा, मानसिक स्वास्थ्य, जेष्ठ नागरिक सेवा, आकस्मिक उपचारलगायतका विविध सेवा उपलब्ध हुने बताए ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्। वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, वडा अध्यक्षहरू चिन्तामणि पौडेल, उर्मिला थापा, कुलबहादुर कार्की, भिष्मराज बुढाथोकी, कार्यपालिका सदस्य मनमाया तामाङ, कल्पना रोक्का लगायत स्थानीय जनप्रतिनिधि तथा नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा भवन निर्माणका लागि दुई कट्ठा जग्गा दान गर्ने अम्बरबहादुर श्रेष्ठ र उनको परिवारलाई सम्मान गरिएको थियो।

