उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १८ करोड ४० लाख ५४ हजार ५ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
सोमबार सम्पन्न १४ औं नगरसभामा उपप्रमुख मिना खतिवडा पौडेलले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । सो बजेटअनुसार प्रशासनिक खर्चमा १६ करोड २५ लाख, सामाजिक विकासमा ३५ करोड ७८ हजार ५ सय, आर्थिक विकासमा ३ करोड ६१ लाख, पूर्वाधार विकासमा ४८ करोड ८८ लाख २ हजार, वातावरण, विपद् तथा जलवायु क्षेत्रमा ६६ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ७७ लाख ५२ हजार, वडा समितिका लागि ९ करोड तथा वडा सञ्चालन र प्रशासनिक खर्चका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै बजेटका स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ६६ करोड ९० लाख, प्रदेश सरकारबाट ४ करोड ५० लाख ४६ हजार, राजस्व बाँडफाँटबाट १९ करोड ८५ लाख ८ हजार ५ सय, आन्तरिक स्रोतबाट १६ करोड ५० लाख, अन्य संघ/संस्था अनुदानबाट ६५ लाख, जनसहभागिताबाट २ करोड तथा सार्वजनिक ऋणमार्फत ८ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
यसअघि, आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले १ अर्ब ११ करोड ५८ लाख ८५ हजार ५ सय ९६ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। त्यसविरुद्ध ९७ करोड ९८ लाख ८३ हजार १ सय ८९ रुपैयाँ मात्र आम्दानी भएको विवरण नगरसभामा प्रस्तुत गरिएको छ।
नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता सचिव रहेका थिए ।
उक्त सभामा आर्थिक वर्ष २०८१/८२ मा कार्यपालिकाबाट भएका निर्णय अनुमोदनका लागि नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीले प्रस्ताव पेश गरेका छन् । साथै, विभिन्न समितिका संयोजकहरूले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यस्तै अर्थ तथा सार्वजनिक लेखा समिति संयोजक चिन्तामणि पौडेल, न्याय समिति सदस्य अमृता दास, आर्थिक विकास समिति सदस्य कल्पना कामी रोक्का, सामाजिक विकास समिति संयोजक कृष्णबहादुर वर्देवा, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक राजनकुमार कँडेल, पूर्वाधार समिति संयोजक कुलबहादुर कार्की र सुशासन तथा संस्थागत विकास समितिका संयोजक तिलककुमार पाण्डेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै, पूर्ण खोप सुनिश्चितता सम्बन्धी प्रतिवेदन वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तानले, सार्वजनिक सम्पत्तिका बारेमा प्रतिवेदन वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राईले र मालपोत तथा नापी कार्यालय स्थापनासम्बन्धी पहलको जानकारी वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापाले दिएकी थिईन् ।

