झापा । झापाको दमक नगरपालिका–३ स्थित संगमचोकमा आइतबार दिउँसो सवारी दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ भने अर्की एक जना घाइते भएकी छन्।
डिपु चोकबाट आम्दा तर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको मे ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्करबाट स्कुटरको पछाडि सवार अन्दाजी ५५/५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
स्कुटर चालक ४४ वर्षीया टिका गौतमको दाहिने खुट्टाको घुँडामा सामान्य चोट लागेको छ। दुवै जना दमक ३ निवासी रहेको बताइएको छ।
घटनापछि टिपर चालक बिर्तामोड नगरपालिका–२ का ४६ वर्षीय तोयानाथ विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कुटर, टिपर र चालक हाल प्रहरीको नियन्त्रणमा रहेका छन्।
प्रहरीका अनुसार मृतकको शवलाई दिउँसो २:२५ बजे कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

