इटहरी | सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाविरुद्ध फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी भए पनि अझैसम्म पक्राउ परेका छैनन्।
जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता भएपछि अदालतले साउन २० गते पक्राउ पुर्जी जारी गरेको हो।
तर उनी भदौ ८ गतेसम्म वडाको दैनिक कामकाज नियमित रूपमा सञ्चालन गर्दै आएका थिए। त्यसपछि मात्रै कार्यवाहक तोकेर फरार भएका छन्।
कानुनअनुसार फौजदारी अभियोगमा मुद्दा दर्ता भएलगत्तै सार्वजनिक पद धारण गरेका व्यक्ति स्वतः निलम्बन हुने व्यवस्था छ। तर वडाध्यक्ष थापाले झण्डै तीन सातासम्म पदमै रहेर निर्णय र प्रशासनिक काम गरेका घटनाले कानुनी प्रक्रियामाथि नै प्रश्न उठाएको स्थानीयहरू बताउँछन्।थापा सञ्चालित कारको ठक्करबाट घाइते भएकी देविका खनाल हाल पनि पूर्ण अशक्त अवस्थामा छन्। पीडित पक्षले न्याय मागिरहेको अवस्थामा वडाध्यक्ष फरार रहँदा पीडित पक्ष थप आक्रोशित बनेको छ।
सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले फरार वडाध्यक्षको खोजी तीव्र पारिएको जानकारी दिए।
२२ फागुन २०८१ मा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४ प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार देविका खनाल गम्भीर घाइते भएकी थिइन्। लामो उपचारपछि डिस्चार्ज भए पनि उनी हाल अशक्त अवस्थामा छिन्।फौजदारी मुद्दा दर्ता भएपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरू स्वतः निलम्बन हुने कानुनी प्रावधान छ। तर, थापाले भदौ ८ गतेसम्म वडाको कामकाज नियमित गरेका थिए।
त्यसपछि उनले वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर फरार भएका छन्।

