भोजपुरको दिलामा बि.सं. २०२७ सालमा पिता अमृतलाल अधिकारी र माता रेनुका अधिकारीको कोखबाट जन्मिएका दुर्गा अधिकारी, जसलाई सबैले “साने” भनेर चिन्छन्, हाल उर्लाबारी-५ मा बसोबास गर्दै आएका उनी धार्मिक एवं सांस्कृतिक क्षेत्रका अभिन्न पात्र मात्र नभई सामाजिक सद्भावका प्रतीक पनि हुन्।
रतुवामाई र उर्लाबारी क्षेत्रका कुनै पनि धार्मिक अनुष्ठान साने बिना अपूरो लाग्ने गर्दछ। हरेक धार्मिक तथा सांस्कृतिक कार्यक्रममा उनी अनिवार्य रूपमा उपस्थित रहन्छन्। श्लोक र भजन गाउन सिपालु साने नेपाली मात्र नभई अन्य भाषाका गीत गाउनमा पनि उत्तिकै दक्ष छन्। उनीसँग भेट भएका मानिसहरूलाई प्रभावित पार्ने अद्भुत क्षमता छ उनमा । विशेषगरी, उनी एक पटक भेटेको मान्छेको नाम कहिल्यै नभुल्ने अद्वितीय विशेषता भएका व्यक्ति हुन्।
सानेलाई झापा र मोरङका धार्मिक तथा सांस्कृतिक गतिविधिमा चासो राख्ने मानिसहरूले राम्ररी चिन्छन्। सुस्त मनस्थितिका भए पनि उनीमाथि सबैले अपार माया र सम्मान प्रकट गर्छन्। उनी कुनै पनि भेदभाव नगरिकन सबै समुदायका कार्यक्रममा सहभागिता जनाउँछन्, जसका कारण उनी सबैका प्रिय बनेका छन्।
धार्मिक र सांस्कृतिक गतिविधिमा उनको योगदान लाई मान्नै पर्दछ । समाजमा यस्ता व्यक्तित्वहरूको सम्मान र प्रेरणा दिनु आवश्यक छ।

