उर्लाबारी
उर्लाबारी नगरपालिकाले व्यावसायिक रुपमा फूल खेती गर्ने कृषकहरुलाई सयपत्री फूलको बीउ र मल वितरण गरेको छ । कृषकहरुको मागको आधारमा बीउ र मल वितरण गरिएको हो । आईतबार कार्यवाहक नगर प्रमुख मीना खतिवडा पौडेलले कृषकलाई बीउ र मल वितरण गर्नुभयो । सो अवसरमा उहाँले उर्लाबारीलाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने योजना अनुसार कृषकहरुलाई निःशुल्क उक्त सामग्री प्रदान गरिएको बताउनुभयो । 
फूल खेती गर्न इच्छुक कृषकका लागि नगरपालिकाले ७ दिने सूचना प्रकाशित गरेको थियो । सोही अनुसार निवेदन दिएका १२ कृषकलाई साढे २३ हजार सिड बीउ वितरण गरिएको कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलले बताउनुभयो । कर्मा ५५५ जातको वर्णशंकर बिउ र प्राङ्गारिक मल वितरण गरिएको उहाँले बताउनुभयो । फूल हुर्कँदै गएपछि आवश्यक पर्ने भिटामिन र विषादी पनि प्रदान गरिने शाखा प्रमुख लुइटेलले बताउनुभयो ।

