उर्लाबारी । मोरङको उर्लाबारीमा फागुन १५ गतेदेखि सुरु भएको कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१ मा बाँसका चोयाबाट निर्मित हस्तकला सामग्री विशेष आकर्षण बनेका छन्। स्थानीयस्तरमा उत्पादन गरिएका यी सामग्री महोत्सवमा प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ, जसले ग्राहकहरूको ध्यान खिचेको छ।
उर्लाबारी उद्योग वाणिज्य संघको आयोजनामा “स्वदेशी उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव सञ्चालन भइरहेको छ। मेलामा कृषि, उद्योग, पर्यटन र स्थानीय हस्तकलाका सामग्रीहरू प्रदर्शनीमा राखिएको छ।
बाँसका चोयाबाट बनाइएका सामग्रीहरू सौन्दर्य, गुणस्तर र दीर्घकालीन प्रयोगका हिसाबले ग्राहकमाझ लोकप्रिय बन्दै गएका छन्। मेलामा सहभागी एक व्यवसायीका अनुसार यी सामग्रीहरू वातावरणमैत्री मात्र नभई स्वदेशी उत्पादन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्छन्।
महोत्सवले स्थानीय उत्पादनलाई बजार प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकहरूको भनाइ छ। मेलामा दैनिक सयौं ग्राहकहरूको उपस्थिति रहेको छ भने स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै स्थानीय उद्योगहरूलाई प्रवर्द्धन गर्ने प्रयास जारी रहेको छ।

