उर्लाबारी,
पूर्वी नेपालको सुंन्दर पर्यटकीय क्षेत्र भनेर चिनिने सुकेपोखरी लौहाकिल पाटेनागी क्षेत्रमा पदमार्ग निर्माण सम्पन्न भएको छ । सुकेपोखरीबाट लौहाकिल पाटेनागी हुँदै बिखेभञ्ज्याङ्ग जोड्ने पदमार्ग निर्माण गरिएको हो । कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ्ग र झापा जिल्ला कार्यक्षेत्र रहेको नेपाल सरकारको केचना कंचनजंघा पर्यटन विकास समिति मार्फत पदमार्ग निर्माण थालनि गरीएको थियो । 
केचना कंचनजंघा पर्यटन विकास समितिको ५ लाखको लागतमा ३ सय मिटर पदमार्ग निर्माण भएको हो । सुकेपोखरी हुँदै इलामको छिन्टापुसम्म पदमार्गमा जोड्ने योजना अनुसार क्रमागत रुपमा पदमार्ग निर्माण गरिएको केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए । समितिले पदमार्गलाई जोड्न प्राथमिकताका साथ काम गर्ने र प्रवद्र्धनका काम पनि गर्ने उनले बताए । 
यो पदमार्ग निर्माणले इलाम, पाँचथर, ताप्लेजुङ्ग, र झापा जिल्लाको पर्यटन क्षेत्रलाई थप प्रोत्साहन दिने विश्वास लिइएको छ। प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता हेर्न चाहने पर्यटकहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ।

