कोशी प्रदेश सरकारले बजेट व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन ‘आयोजना बैंक’ सञ्चालन गर्ने घोषणा गरेको छ। मुख्यमन्त्री हिक्मत कार्कीले बजेट निर्माणका क्रममा आएका समस्यालाई समाधान गर्न र योजनाहरूलाई विधिसम्मत रूपमा कार्यान्वयनमा लैजान यो प्रणाली आवश्यक भएको बताए। ‘आयोजना बैंक’मार्फत प्रदेश योजना आयोगलाई थप सशक्त बनाउँदै योजनाहरूको छनोट र कार्यान्वयनलाई प्रभावकारी बनाउने सरकारको योजना छ।
‘कोशी प्रदेश आयोजना बैंक कार्यविधि, २०८१’को मस्यौदा तयार भइसकेको छ र सरोकारवालासँग छलफलमा लगिएको छ। मुख्यमन्त्री कार्कीका अनुसार, यो प्रणालीले असारमा मन्त्रालय धाएर बजेट माग्ने परम्पराको अन्त्य गर्दै दीर्घकालीन विकासका कामलाई गति दिनेछ। सरकारको भनाइमा, यसले पारदर्शिता र उत्तरदायित्व कायम गर्न मद्दत पुर्याउँदै प्रदेशमा विकासको नयाँ आयाम थप्नेछ।
#sansaripana #sunsari #jhapa #morang

