तेतेरिया, मोरङ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिकामा विजय हासिल गरी माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने उद्घोष गरेका छन्।

माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका–५ तेतेरियामा आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस पटकको रणनीति र जनसमर्थनले माओवादीलाई सशक्त बनाउन महत्वपूर्ण योगदान गर्ने दाबी गरे।

“२०७९ को स्थानीय तह निर्वाचनमा हामीले १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौँ। यसपटक ग्रामथान गाउँपालिकाको विजयले यो संख्या १२३ पुगेको छ। आगामी चुनावमा २५० पालिका जितेर पहिलो पार्टी बनाउने हाम्रो लक्ष्य हो,” प्रचण्डले भने।

उनले हालै सम्पन्न उपनिर्वाचनले माओवादी केन्द्रलाई नयाँ उचाइँमा पुर्याउने सन्देश दिएको उल्लेख गर्दै मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई पालिकाको विजयलाई रणनीतिक महत्वको जीतका रूपमा व्याख्या गरे।

पूर्वको सन्देश: माओवादी केन्द्रको सशक्त पुनरागमन

प्रचण्डका अनुसार, माओवादीलाई कमजोर भएको भनेर विरोधीहरूले फैलाएको भ्रमलाई पूर्वका जनताले ठूलो झड्का दिएका छन्। उनले भने, “पूर्वले माओवादीलाई संख्या र लोकप्रियतामा पहिलो बनाएको छ। यो केवल ग्रामथानको विजय मात्र होइन, यो देशव्यापी सन्देश दिने जीत हो।”

जनतासँग प्रतिबद्धता

ग्रामथानबासीप्रति कृतज्ञता प्रकट गर्दै प्रचण्डले यहाँका जनताको समस्याको समाधानका लागि आफ्नो निवास खुला रहने बताउँदै माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार प्राप्त गरेको दाबी गरे।

उनले भने, “भ्रष्टाचारको जरा उखेलेर देशलाई समृद्ध बनाउन माओवादी केन्द्रलाई फेरि बहुमत दिनुहोस्। अब हाम्रो सुझबुझपूर्ण नेतृत्वले नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउनेछ।”

सुधार र समाजवादको अभियान

सरकारमा रहँदा आफूले सुरु गरेका सुधारका प्रयासबारे चर्चा गर्दै उनले योग्यताका आधारमा जिम्मेवारी दिन थालिएको, कर्मचारीतन्त्रमा सुधार गरिएको, शिक्षा र निजामती ऐनलगायतका कानुन निर्माण अघि बढाइएको बताए।

प्रचण्डले भने, “जनताको तागतबाट समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गर्दै, हाम्रा राम्रा काम लिएर जनताबीच जाने प्रक्रिया सुरु गरेका छौँ।”

माओवादी केन्द्रका नेताहरूले ग्रामथान गाउँपालिकाको विजयलाई आगामी निर्वाचनमा पार्टीका लागि ऐतिहासिक उपलब्धिको संकेतका रूपमा लिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय