विराटनगर, कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव २०८१ आयोजना गर्ने भएको छ। बुधबार विराटनगरस्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले फागुन १३ देखि १८ गतेसम्म विराटनगरमा खेल महोत्सव सञ्चालन गर्ने निर्णय गरेको हो।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा सम्पन्न बैठकले महोत्सवलाई वार्षिक रूपमा आयोजना गरिने प्रदेशस्तरीय प्रमुख खेलकुद प्रतियोगिताका रूपमा स्थापित गर्ने निर्णय गरेको छ।
बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेल महोत्सव सफल बनाउन सामाजिक विकास मन्त्री राईको नेतृत्वमा ६१ सदस्यीय मूल समारोह समिति गठन गरिएको जानकारी दिनुभयो। साथै, विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ।
बस्नेतका अनुसार महोत्सव अन्तर्गत महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कब्बड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो, पुरुष सफ्टटेनिस र डोरीतान प्रतियोगिताहरू आयोजना गरिनेछ।
कोशी प्रदेश खेल महोत्सवले प्रदेशभित्रका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

