तनहुँको भिमादस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी लेखापालले चार विद्यार्थीलाई पन्यु तताएर डामेकी छिन्। विद्यालयकी लेखापाल तथा सञ्चालक कृष्णदेव श्रेष्ठकी छोरी सुष्मा श्रेष्ठले आफूलाई ‘काली’ भनेको निहुँमा बालबालिकालाई शारीरिक यातना दिएको खुलासा भएको छ।
विद्यालयमा हल्ला गरेको भन्दै उनले कक्षा ४ मा अध्ययनरत १० वर्षीय प्रमिस परियारसहित चार जनालाई तातो पन्युले गालामा डामेको पीडित अभिभावकहरूले जानकारी दिएका छन्। प्रमिसकी आमा विष्णु परियारका अनुसार घटनापछि उनले अर्का पीडित विद्यार्थी बेवीसकी आमा बसन्तीसँगै विद्यालयमा गएर विरोध जनाएका थिए।
घटनाका विषयमा जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भिमादले सुष्मा श्रेष्ठलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी अशोक थापाले घटनाको पुष्टि गर्दै बालबालिकालाई यातना दिने कार्य अमानवीय भएको बताएका छन्।
प्रहरीका अनुसार तातो पन्युले डामिएर एक विद्यार्थीको गालामा गम्भीर घाउ भएको छ भने अन्य तीन जनालाई सामान्य चोट लागेको छ। पीडित बालबालिकालाई औषधी तथा मलम लगाएर उपचार भइरहेको छ।
विद्यालय सञ्चालक कृष्णदेव श्रेष्ठले घटना भएको स्वीकार गरे पनि यसको औपचारिक प्रतिक्रिया दिएका छैनन्। घटनापछि अभिभावकहरूले विद्यालय प्रशासनको कमजोरीप्रति आक्रोश व्यक्त गर्दै उचित कारबाहीको माग गरेका छन्।

