सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा–८, गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त समारोहमा विभिन्न सङ्कायका आठ हजार १ सय ५० विद्यार्थी दीक्षित भएका छन्।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थिति रहेको थियो। प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै ज्ञान, सीप र नवाचारमार्फत मुलुकको समृद्धिमा योगदान दिन आह्वान गरे।
विश्वविद्यालयका सूचना अधिकारी टेक प्रसाद अधिकारीका अनुसार विभिन्न सङ्कायका विद्यार्थीहरू दीक्षित भएका छन्। कला सङ्कायतर्फ २ सय ४, कानुन सङ्कायतर्फ ४ सय ९७, शिक्षाशास्त्र सङ्कायतर्फ ९ सय ६, व्यवस्थापन सङ्कायतर्फ २ हजार २ सय ४९, चिकित्साशास्त्र सङ्कायतर्फ २ हजार १ सय ९८, विज्ञान तथा प्रविधि सङ्कायतर्फ ६ सय ५४ तथा इन्जिनियरिङ सङ्कायतर्फ १ हजार ४ सय ४२ जना विद्यार्थीहरूले स्नातक तथा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्।
दीक्षान्त समारोहमा विद्यार्थी, अभिभावक, प्राध्यापक तथा विश्वविद्यालयका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहलाई भव्य र व्यवस्थित बनाउन विश्वविद्यालय प्रशासनले विशेष तयारी गरेको थियो।

