विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरकाे स्ववियु निर्वाचनको विषयलाई लिएर आगजनी र तोडफोड गरेकाे आराेपमा प्रहरीले नेपाल विद्यार्थी संघका चार जना नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्ववियु सभापतिका उम्मेदवार पनि छन् ।
प्रहरीले मोरङ लेटाङ नगरपालिका– २ घर भई विराटनगर बस्दै आएका नेविसंघ केन्द्रीय सदस्य २६ वर्षीय योगराज दाहाल, विराटनगर महानगरपालिका– ४ का २० वर्षीय आयुष दाहाल, बुढीगंगा गाउँपालिका– २ का ३० वर्षीय नेविसंघ मोरङ सचिव गुड्डु साह र बुढीगंगा गाउँपालिका– २ की २६ वर्षीया नेविसंघ केन्द्रीय सदस्य पुजा विश्वासलाई पक्राउ गरेको हो ।योगराज दाहाल महेन्द्र मोरङ स्ववियु सभापतिमा डाक्टर शेखर काेइराला पक्षका उम्मेदवार हुन् ।
स्ववियु निर्वाचन कार्यालयमा बुधबार दिउँसो असन्तुष्ट समूहले तोडफोड गर्दै आगजनी गरेको थियो । आगजनीपछि निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो । तोडफोड र आगजनीमा संलग्न चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए । मंगलबार अबेर राति उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दा निर्वाचन समितिले विष्टलाई आधिकारिकता दिएको थियो । कोइराला समूहका उम्मेदवार दाहालको नाम स्वतन्त्र उम्मेदवारको सूचीमा थियो । संगठनकाे उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले तोडफोड र आगजनीपछि तालाबन्दी गरेका थिए ।
कोइराला समूहका विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सुशील अधिकारीले जानकारी दिए । ‘निर्वाचनको तयारी राम्रै छ, तर आकस्मिक रुपमा विद्यार्थीहरुले आएर निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गर्नुभयो,’ उनले भने,‘ आगोले सामान्य केही कागजहरू जलेका छन् ।’
गत फागुन १५ गते नेविसंघ मोरङ जिल्ला सभापति सरोज पोखरेललाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति जसवन्त पौडेलसहितका समूहले क्याम्पस परिसरमा निर्घात कुटपिट गरेको थियो । तर प्रहरीले राजनीतिक विवाद भन्दै साे समूहलाई पक्राउ गरेकाे थिएन । त्यसपछि नेविसंघको संस्थापन र इतर समूह बीचको विवाद बढेको थियो ।
बेतना दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय