उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा रहेका आठ वटा सामुदायिक वनमध्ये प्रगतिशील सामुदायिक वन हाल स्थानीय पर्यटकको प्रमुख आकर्षण बनेको छ। विक्रम संवत् २०७१ सालमा स्थापना गरिएको प्रगतिशील सामुदायिक वनले वन संरक्षण, सौन्दर्य र मनोरञ्जनलाई संयोजन गर्दै पर्यटकीय गन्तव्यको रूपमा आफूलाई स्थापित गर्न सफल भएको हो । वनभित्र रहेका आकर्षक पोखरीहरू, ट्रि हाउस (Tree House), परम्परागत पिङ, तथा वनकै काठ दाउराबाट निर्माण गरिएका काठेपुलहरूले आगन्तुकलाई विशेष आकर्षण प्रदान गरेका छन्।
उर्लाबारी–४ स्थित किसानचोकबाट करिब ३ किलोमिटर उत्तर–पश्चिमतर्फको दूरीमा अवस्थित यो वन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ। यस वनमा पुग्ने जो–कोही पर्यटक शान्त वातावरण, हरियाली र सामुदायिक मेहनतको उत्कृष्ट नमुना देख्न सक्नेछन्।
स्थानीय पर्यटकहरूका लागि मनोरञ्जन , विश्राम र अध्ययनको उपयुक्त थलोका रूपमा परिचित यो वनले उर्लाबारीको पर्यटकीय विकासमा टेवा पुर्याउँदै आएको छ। स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा यश क्षेत्रमा अझ धेरै पर्यटकीय पूर्वाधार थप्ने तयारी भइरहेको वनका अध्यक्ष तारिलाल धिमाल बताउछन् । उर्लाबारी वडा नं. २ मा अवस्थित यो वन एकसय ४२ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

