काठमाडौं । गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी आन्दोलनका क्रममा गोली लागी घाइते भएकी रेविका खत्रीको न्यायका लागि मंगलबार संसद भवन अगाडि विरोध प्रदर्शन गरिएको छ।
कोटेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले रेविकाको सहज र निःशुल्क उपचारको व्यवस्था गरिनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै संसद भवनको गेट बाहिर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले ‘रेविकालाई न्याय दे’, ‘निर्दोषमाथि गोलीप्रहार किन?’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारासहित प्रदर्शन गरेका थिए।
रेविका खत्री कुनै पनि राजनीतिक दलको आन्दोलनमा सहभागी नभएको अवस्थामा कोठा फर्किने क्रममा गोलीको सिकार भएकी थिइन्। उनी हालसम्म अस्पतालमै उपचाररत छन्। सुरुमा उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको थियो भने हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रदर्शनकारी विद्यार्थीहरुले एकजुट भई सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन थालेको बताएका छन्। उनीहरुले रेविकाको उपचार खर्च सरकारले व्यहोर्नु पर्ने माग पनि गरेका छन्।
सरकार वा सुरक्षा निकायले भने यस घटनामा हालसम्म ठोस जवाफ सार्वजनिक गरेका छैनन्। प्रदर्शनकारीहरुले दोषी पहिचान गरी कारबाही नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

