उर्लाबारी । उर्लाबारी नगरपालिकाको आर्थिक सहयोग तथा धिमाल जातिय विकास केन्द्र उर्लाबारी नगर समिती र पहिलो जाती धिमाल व्यावस्थापन समितिको आयोजनामा नगर क्षेत्रका धिमाल समुदायका युवाहरुलाई लक्षित गरी सात दिने लेखा तथा उद्घोषण तालिम सुरु गरिएको छ।
नगरको पहिलो जातिका रुपमा परिचित धिमाल समुदायका युवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको तालिमको उद्घाटन उर्लाबारी–३ स्थित धिमाल जातीय विकास केन्द्रको सभाहलमा गरिएको थियो । उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेलले तालिमको औपचारिक शुभारम्भ गर्नु भएको हो ।
उद्घाटन समारोहमा उपप्रमुख पौडेलले नगरका प्रथम जातिका रुपमा रहेका धिमाल समुदायका युवायुवतीहरुलाई लक्षित गर्दै संचालन गरिएको यो तालिमले उनीहरुको आत्मविश्वास, सीप र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
जेठ १५ देखि २१ गते सम्म संचालन हुने तालिममा धिमाल जातीय विकास केन्द्र अन्तर्गत रहेका १९ वटा गाउँ–टोल समितिबाट ४० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ। लेखा तथा उद्घोषण सम्बन्धी सीप प्रदान गरिने यस तालिममा प्रशिक्षकको भूमिका देशराज नेङमाङले निर्वाह गर्ने छन ।
धिमाल जातीय विकास केन्द्र उर्लाबारीका अध्यक्ष मानबहादुर धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धिमाल जातीय विकास केन्द्र उर्लाबारीका पूर्व नगर अध्यक्ष नारायण धिमाल, जिल्ला अध्यक्ष प्रेमलाल धिमाल, नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समन्वय समितिका अध्यक्ष सम्सेर लिम्बू, धिमाल जातीय विकास केन्द्र उर्लाबारीका नगर उपाध्यक्ष श्रीमाया धिमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका संयोजक तथा नगर सहसचिव दिलीप धिमालले तालिमको उद्देश्य, महत्व र उदेश्य बारे प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन नगर सचिव याम बहादुर धिमालले गरेका थिए ।
बिहिवार देखि संचालन भएको तालीमका लागि उर्लाबारी नगरपालिले एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको धिमाल जातीय विकास केन्द्र उर्लाबारीका अध्यक्ष मान बहादुर धिमालले बताए ।
धिमाल समुदायका युवाहरुलाई प्रोत्साहन गर्ने यस्ता तालिमले उनीहरुको नेतृत्वदायी भूमिकालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।


