उर्लाबारी । समाजसेवा र शिक्षा क्षेत्रमा अग्रणी स्थानमा काम गर्दै आएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिले नगर भित्रका शिक्षकहरूको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन सुरु गरेको छ। तालिमको पहिलो चरण गणित विषयमा केन्द्रित रही शुक्रबार उर्लाबारी–७ स्थित भृकुटी मोडल एकाडेमीमा सम्पन्न भएको हो।
प्याव्सनमा आबद्ध विभिन्न विद्यालयहरूबाट कक्षा ५ देखि १० सम्मका गणित विषयका ३७ जना शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको तालिममा गणित विषयको पाठ्यक्रम, शिक्षण विधि तथा व्यवहारिक पक्षमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका प्रमुख सहजकर्ता विद्याभूषण गुप्ताले सहभागी शिक्षकहरूलाई प्रभावकारी र नविनतम शिक्षण पद्धतिबारे सहजीकरण गर्नुभएको थियो।
तालिम कार्यक्रम प्याव्सन उर्लाबारी नगर अध्यक्ष सूर्य पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले प्याव्सन नगर समितिद्वारा सुरु गरिएको यो तालिम शृंखलाले विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्याव्सन प्रदेश सदस्य दिनेश पोख्रेल, जिल्ला सल्लाहकार सुरेन्द्र सुवेदी, जिल्ला सदस्य नेत्रप्रसाद गड्तौला, भृकुटी मोडल एकाडेमीका निर्देशक अमर काफ्ले लगायतको उपस्थिति रहेको थियो।
नगर अध्यक्ष पौडेलले सबै अनिवार्य विषयहरूमा शिक्षक तालिम यही महिनाभित्र सम्पन्न गरिने जानकारी दिनुभयो। तालिमका बारेमा बोल्दै प्याव्सन नगर सचिव लक्ष्मीप्रसाद राईले शिक्षकहरूको पेशागत दक्षता वृद्धि र शिक्षणमा नवीनता ल्याउन यस्ता तालिमहरू अपरिहार्य रहेको महसुस गरिएको बताउनुभयो।

