उर्लाबारी । गत बुधबार राति आएको भीषण हावाहुरी र वर्षाका कारण क्षति पुगेको उर्लाबारीस्थित एक मिललाई उर्लाबारी उद्योग वाणिज्य संघले आर्थिक सहयोग प्रदान गरेको छ।

संघकी साधारण सदस्य तथा उर्लाबारी ६ मा रहेको कन्काई स मिल सञ्चालिका कमला श्रेष्ठको मिलमा बुधबार रातिको हावाहुरीसहितको वर्षाले ठूलो क्षति पुर्याएको थियो। सोही घटनामा मिलको छाना उड्नुका साथै उपकरणहरूमा समेत क्षति पुगेको बताइएको छ।

पीडित व्यवसायी श्रेष्ठलाई संघले आफ्नो विपत् कोषमार्फत रू. २५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको हो। संघका पदाधिकारीहरूले मिलमै पुगेर उक्त रकम प्रदान गरेको महासचिव सम्झना खतिवडाले बताउनु भयो ।
संघले विपद् परिस्थितिमा व्यापारी तथा उद्यमीहरूलाई सकेसम्म सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता पीडामा परेकालाई प्राथमिकताका साथ राहत तथा सहयोग प्रदान गरिने संघका अध्यक्ष तारामान सिरेङ बताउनु हुन्छ ।

