इटहरी । सस्तो,सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य राखेर सुनसरीको इटहरीमा १० करोड रुपैयाँ लगानी गरेर निर्माण गरिएको मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल आफैँ धराशायी बनेको छ ।
उद्घाटनको लामो समयसम्म पनि अस्पतालले सेवा सञ्चालनको स्वीकृति पाएको छैन । सेवाको स्वीकृति नपाउँदा अलपत्र बनेको अस्पतालले सर्वसाधारणको उपचारमा ध्यान दिन सकेको छैन । स्थानीय सरकारको स्वीकृति अभावले अस्पतालको ढोका त खुलेको छ ।
तर, भित्र सेवा ठप्प छ । इटहरी उपमहानगरपालिका–४ स्थित बुढीगंगा–जमुना मुक्तिघाट परिसरमा निर्माण गरिएको १५ शय्याको सुविधा सम्पन्न अस्पताल गत वैशाख १ गते उद्घाटन गरिएको थियो । तर, भवनको नक्सा समेत स्वीकृत नगरेको भन्दै उपमहानगरपालिकाले अनुमति नदिएपछि अस्पताल सञ्चालनमा आउन सकिरहेको छैन ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष हेम घिमिरे स्वीकृतिका लागि पटक–पटक उपमहानगरमा निवेदन दिइसकिएको बताउँछन । ‘बारम्बार निवेदन दिए पनि कहिले प्रमुख प्रशासकीय अधिकृत त कहिले मेयर अनुपस्थित रहेको भन्दै हाम्रो मागलाई बेवास्ता गर्ने काम भइरहेको छ, उनले भने ।
उनका अनुसार कानुनी प्रक्रिया पालना गर्न खोज्दाखोज्दै स्थानीय तहकै ढिलासुस्तीले अस्पतालको सेवा प्रारम्भ नै अन्योलमा परेको छ । ‘आठदेखि दश लाख रुपैयाँ त केवल डाक्टरहरूको पारिश्रमिकमै जान्छ । झन्डै १५ लाख रुपैयाँ मासिक खर्च छ। तर,न बिरामी भर्ना गर्न पाइन्छ । न त सेवा विस्तार नै, घिमिरेले गुनासो गरे।

