उर्लाबारी । मोरङको उर्लाबारीमा यतिबेला सामुदायिक कुकुरको आतंकले स्थानीयवासीमा त्रास फैलिएको छ । नगरको विभिन्न स्थानमा घुम्ने कुकुरहरुले बालबालिका, वृद्धवृद्धा तथा पैदल यात्रीलाई सताउने, पछ्याउने र कतिपय अवस्थामा टोक्ने घटनासमेत भइरहेका छन्।

उर्लाबारी नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख बद्री भट्टराईका अनुसार नगर क्षेत्रमा हालसम्म करिब १ सय ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य माघमा सम्पन्न भइसकेको छ। “बन्ध्याकरण र खोप लगाउने कार्यक्रम निरन्तर भइरहे पनि समस्या पूरै समाधानमा पुग्न भने कठिन भइरहेको छ,” प्रमुख भट्टराईले बताए।

सार्वजनिक स्थानमा स्वतन्त्र घुम्ने कुकुरहरूलाई नियन्त्रण गर्न स्थानीयवासीले बारम्बार माग गर्दै आएका छन्। कतिपयले सामुदायिक कुकुरलाई सुरक्षित स्थानमा राखेर संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। तर, पशु अधिकारकर्मी र संरक्षणकर्मीहरूको भनाइमा बन्ध्याकरण र रेबिज खोप नै सामुदायिक कुकुर समस्या समाधानको दीर्घकालीन उपाय हो।

उर्लाबारी नगरपालिकाले पशु स्वास्थ्य र कुकुर नियन्त्रण कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। तर जनचेतना अभाव, खुला फोहोरमैला व्यवस्थापनको समस्या र जनशक्ति तथा स्रोतको अभावले गर्दा चुनौती थपिएको जनाइएको छ।
स्थानीय बासिन्दाहरूले नगरपालिकाले कुकुर नियन्त्रणको पहललाई अझ कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका छन्। नगरभित्र सुरक्षित वातावरण कायम गर्न सामुदायिक कुकुरको प्रभावकारी व्यवस्थापन आवश्यक भएको आवाज दिनानुदिन चर्किंदै गएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय