नेपाली कांग्रेसको इतर खेमाका नेता डा. शेखर कोइरालाले एमालेलाई सरकारको नेतृत्व दिएकोप्रति सभापति शेरबहादुर देउवासँग असन्तुष्टि जनाएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनुको कारण प्रष्ट पार्न माग गरे ।
केन्द्रीय कार्यालय सानेपामा आजदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले प्रश्न गरे- कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर, मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?
गत वर्ष असार १७ गते मध्यराति भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधनको विषयमा भएको प्रगतिबारे पनि उनले देउवासँग जवाफ माग गरेका छन् । भने- सभापतिज्यूले यसको चित्त बुझ्ने जवाफ दिनुपर्छ ।
गत आम निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर अहिले एमालेसँग सत्ता सहकार्य गर्नु बेठिक भएको पनि कोइरालाको धारणा रह्यो । । त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गरिएको हो र अहिले किन एमालेसँग सहकार्य भयो भन्ने विषयको जवाफ पार्टीले दिनुपर्ने उनको मत छ ।
‘०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर गयौँ । अहिले एमालेसँग सरकारमा छौँ,’ कोइरालाले प्रश्न गरे, ‘त्यतिबेला के कारणले माओवादीसँग गठबन्धन गर्यौँ र अहिले के कारणले एमालेसँग सत्ता सहकार्य भयो ?’

