इलामको सूर्योदय नगरपालिका–१ भालुखोपमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ भने उनका दाजु गम्भीर घाइते भएका छन्।
गए राति करिब ९:५० बजे भएको घटनामा माईजोगमाई गाउँपालिका–२ तारसिंहका २१ वर्षीय प्रकाश चापागाईंको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। उनका दाजु ३२ वर्षीय निरोज चापागाईं भने गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार निरोज चापागाईं ससुराली घर भालुखोपस्थित काजी तामाङको घरमा बस्दै आएका थिए। सोही घरमा भाइ प्रकाशलाई पनि साथमा राखेका थिए।
घटनाको रात किरण शेर्पा र चापागाईं दाजुभाइबीच झगडा भएको थियो। झगडापछि सूर्योदय–१ सिरिसे निवासी ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियार प्रयोग गरी दुबैजनामाथि आक्रमण गरेका थिए।
हातहतियार प्रहारबाट प्रकाशको घटनास्थलमै मृत्यु भएको हो भने दाजु निरोजको पेटमा गम्भीर चोट लागेकाले उनलाई तत्काल उपचारका लागि फिक्कल अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ।
आक्रमणपछि फरार रहेका किरणलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक छे फिन्जो भोटेको कमान्डमा खटिएको १० जना प्रहरी टोलीले सूर्योदय–१ मानेभञ्ज्याङबाट नियन्त्रणमा लिएको हो। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

