१ साउन । इजरायलले सिरियाको राष्ट्रपति महल नजिक र दमास्कसको केन्द्रमा रहेको सैनिक मुख्यालयमा शक्तिशाली हवाई आक्रमण गरेको छ, जुन छिमेकी देशमाथिको आक्रमणमा ठूलो मानिएको छ।
सिरियाली सरकारी सञ्चारमाध्यमले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको अनुसार, बुधवार दमास्कसमाथि गरिएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ र अरु ३४ जना घाइते भएका छन्।
दमास्कसमाथि लक्षित आक्रमण जारी राख्दै इजरायली सेनाले सिरियाको दक्षिणी क्षेत्रमा पनि बमबारी जारी राखेको छ, जसमा स्वेइदा समेत पर्छ। त्यहाँ ड्रुज सशस्त्र समूह, बेदुइन जातिहरू र सरकारी फौजबीच चार दिनसम्म चलेको झडपपछि नयाँ युद्धविराम सम्झौता भएको छ, जसमा सयौंको ज्यान गएको बताइएको छ।
सिरियाको विदेश मन्त्रालयले दमास्कस र स्वेइदामाथिका इजरायली आक्रमणहरूलाई “सिरियामा तनाव र अराजकता सिर्जना गर्न तथा सुरक्षालाई कमजोर पार्ने इजरायलको योजनाबद्ध नीति” भनेको छ र अन्तर्राष्ट्रिय समुदायलाई इजरायली आक्रामकताविरुद्ध “तत्काल कदम चाल्न” आह्वान गरेको छ।
इजरायलले भने आफ्नो बमबारी अभियान ड्रुज अल्पसंख्यकको सुरक्षा गर्नका लागि गरिएको दाबी गर्दै स्वेइदा शहरबाट सिरियाली सरकारलाई आफ्ना फौज फिर्ता बोलाउन आह्वान गरेको छ, जहाँ अधिकांश हिंसा भएको छ।
ब्रिटेनस्थित युद्ध अनुगमन संस्था Syrian Observatory for Human Rights ले झडपमा चार जना बालबालिका, आठ जना महिला, र १६५ जना सैनिक तथा सुरक्षाकर्मी सहित ३०० भन्दा बढी मानिसको मृत्यु भएको बताएको छ । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले सिरियाको दक्षिणमा लडिरहेका पक्षहरू यस डरलाग्दो अवस्थालाई अन्त्य गर्ने ठोस कदममा सहमत भएको बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय