नुनसरी रचना कलिदह सिचाइ आयोजना पुनः सञ्चालनका लागि स्थानीयको श्रमदान तीव्र
मधुमल्ला । मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित नुनसरी रचना कलिदह सिचाइ आयोजना पुनः सञ्चालनका लागि स्थानीयवासीहरूले तीव्र रूपमा श्रमदान अभियान सञ्चालन गरिरहेका छन्। बाढी तथा पहिरोका कारण विगत ६ वर्षदेखि बन्द अवस्थामा रहेको कुलो अहिले पुनः उपयोगमा ल्याउने प्रयास भइरहेको हो।
आयोजनाका अध्यक्ष केबी किरातका अनुसार, विगत १० दिनदेखि निरन्तर रूपमा फाडफुँड, सरसफाइ तथा मर्मतको काम भइरहेको छ। “अहिलेसम्म दैनिक ५०–१०० जनासम्म स्थानीयवासीको सक्रिय सहभागिता रहेको छ,” उनले बताए।
स्थानीय लक्ष्मी श्रेष्ठका अनुसार, कुलो अवरुद्ध भएपछि करीब १०० हेक्टरभन्दा बढी खेतमा किसानहरूले वर्षा पानीको भरमा धान रोप्दै आएका थिए। यस वर्ष लामो समयको खडेरीले गर्दा समयमै धान रोप्न नसकिएपछि कृषकहरूले आपसमा मिलेर श्रमदान अभियान सुरु गरेका हुन्।
पुनः सञ्चालन अभियानलाई व्यवस्थित बनाउन जंग श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको अध्यक्ष किरातले जानकारी दिए। अझै १०–१२ दिनको श्रमदानले आयोजना सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
गाउँपालिका र वडा कार्यालयको सहयोगमा JCB प्रयोग गरेर निर्माण कार्यलाई थप तीव्रता दिइएको छ। श्रमदानमा सहभागीहरूलाई स्थानीयले स्वस्फूर्त रूपमा खाजाको व्यवस्था गरिरहेका छन् भने इच्छुक व्यक्तिहरूलाई खाजा सहयोग गर्नसमेत आग्रह गरिएको छ।
यस आयोजनाले पुनः सञ्चालन भएपछि स्थानीय कृषकको सिँचाइ समस्या समाधान हुने र कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।
सिंचाइ आयोजनाका अध्यक्ष केबी किरातका अनुसार, विगतमा पटक–पटक जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमा बजेट माग गर्दा पनि पर्याप्त बजेट अभावका कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन। आर्थिक वर्ष २०८१/०८२ मा छुट्याइएको पाँच लाख रुपैयाँ बजेट पनि अपुग भएकाले खर्च गर्न नसकिएको उनले बताए।
स्थानीय जनसहभागिता र दृढ इच्छाशक्तिले यस ऐतिहासिक सिँचाइ आयोजनालाई पुनः जीवन दिन सकिने सम्भावना बलियो हुँदै गएको छ।

