७ साउन। प्यालेस्टाइनको गाजामा इजरायलको आक्रमण जारी रहँदा पछिल्ला २४ घण्टामा कम्तीमा १५ जनाले भोककै कारण ज्यान गुमाएका छन्।
इजरायली नाकाबन्दी र मानवीय सहायता अवरोधका कारण खाद्यान्नको चरम अभाव भएको बताइएको छ। अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा भोकमरीको अवस्था भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।
आक्रमण जारी रहँदा अस्पतालहरू, बालबालिका र सर्वसाधारण सबै प्रभावित भइरहेका छन्, भने राहत सामग्रीको आपूर्ति अत्यन्तै सीमित भएको जनाएको छ ।
पछिल्ला २४ घण्टामा घेराबन्दीमा परेको गाजा पट्टीमा कम्तीमा १५ जनाले भोककै कारण ज्यान गुमाएका छन जसमा एक छ हप्ते बच्चाले दूध खान नपाएर मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। महिनौँदेखि बमवर्षाको चपेटामा परेको यस क्षेत्रमा फैलिएको भोकमरीको संकट अब पूर्णरूपमा विस्फोट भएको उनीहरूको भनाइ छ।

सन २०२३ को अक्टोबरमा इजरायली आक्रमण सुरु भएपछि अहिलेसम्म १०१ जनाको भोक र कुपोषणका कारण मृत्यु भइसकेको छ, जसमा ८० बालबालिका छन्। तीमध्ये अधिकांशको मृत्यु पछिल्ला केही साताहरूमा भएको हो।
इजरायलले मार्चमा गाजामा सबै आपूर्ति बन्द गरेपछि खाद्यान्नको भण्डार समाप्त भएको थियो। त्यसपछि मे महिनामा केही सहायता आपूर्ति पुनः अनुमति दिइएको थियो। तर ती सामग्री अमेरिकी र इजरायली समर्थन प्राप्त गाजा ह्युमानिटेरियन फाउन्डेसन (GHF) मार्फत वितरण गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार मे महिनादेखि अहिलेसम्म राहत लिन खोज्ने क्रममा १ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । अधिकांश ह्युमानिटेरियन फाउन्डेसन वितरण केन्द्रहरू नजिकै मारिएका छन ।

