१२ साउन। इजरायली सेनाले प्यालेस्टाइनको केही क्षेत्रमा दैनिक १० घण्टाको लागि आक्रमण “विराम” गर्ने घोषणा गरेपनि केही घण्टामै हवाई हमला गर्दा गाजाभर कम्तीमा ६३ जना मारिएका छन ।
आइतबार इजरायली सेनाले प्यालेस्टाइनको मध्य र उत्तरी गाजाका केही भागहरू अल-मवासी, देइर अल-बलाह र गाजा सिटीमा हरेक दिन बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सैन्य गतिविधि अस्थायी रूपमा रोक्ने र बिहान ६ बजेदेखि राति ११ बजेसम्म खाद्य र औषधि सहायता गाडीहरूका लागि निर्दिष्ट सहायता मार्गहरू खोल्ने प्रतिबद्धता जनाएको थियो। तर “आक्रमण विराम” घोषणा को पहिलो दिनकै केही घण्टामै इजरायली हवाई आक्रमण फेरि सुरु भएको छ । आक्रमण गरिएका ठाउँ इजरायली सेनाले ‘सुरक्षित क्षेत्र’ घोषणा गरेको ठाउँ हुन जहाँ उनीहरूले सैन्य कारबाही रोक्ने बताएका थिए । त्यो क्षेत्रमा रहेका प्यालेस्टिनीहरूका अनुसार एउटा बेकरीलाई निशाना बनाइएको थियो।
इजरायलद्वारा गाजामा थोपारिएको मानवीय संकट झनै गहिरिँदै जाँदा यो बमबारी भएको हो जसले विश्वव्यापी आक्रोश बढाइरहेको छ।
भोकमरीबाट मृत्यु बढ्दै
गाजाको स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा कुपोषण सम्बन्धी कारणले थप छ जना प्यालेस्टिनीहरूको मृत्यु भएको जनाएको छ, जसमा दुई बालबालिकासमेत छन्। यो सँगै सन् २०२३ को अक्टोबरदेखि अहिलेसम्म भोकमरीका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ।
मृतकमध्ये पाँच महिनाकी बच्चा पनि छिन जसको नासेर अस्पतालमा कुपोषणका कारण ज्यान गएको छ।

