१४ साउन। रूसको पूर्वी तट नजिक ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि दर्जनौं देशहरूमा चेतावनी र सुरक्षित स्थानतर्फको सारबास शुरू गर्न सतर्कता जारी गरिएको छ।
बुधबार ढिलोसम्म अमेरिका, ल्याटिन अमेरिका तथा एसिया र प्रशान्त महासागरका विभिन्न द्वीप राष्ट्रहरूमा सुनामीको खतरनाक छालहरू आइपुग्ने आशंका गरिएको छ।
रूसको पूर्वी कामचात्का क्षेत्रमा भूकम्पपछि चार मिटरसम्म अग्ला छालहरू देखिइसकेका छन्।
रूसी प्रशान्त सहर सेभेरो-कुरिल्स्कमा सुनामी छालको उचाइ तीन मिटर भन्दा बढी पुगेको र सबैभन्दा शक्तिशाली छाल पाँच मिटरसम्म पुगेको जनाएको छ।
सखालिन क्षेत्रको कुरिल टापुस्थित सागर छेउको सहर सेभेरो-कुरिल्स्कमा बाढी आएपछि त्यहाँका २ हजार बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
रूसी सामाजिक सञ्जालहरूमा सार्वजनिक गरिएका भिडियोहरूमा सहरका भवनहरू पानीमा डुबेको देखिन्छ।
उत्तर कुरिल जिल्ला भरी आपतकालीन स्थिति घोषणा गरिएको छ।
सबै प्रभावित मानिसहरूलाई समयमै सुरक्षित क्षेत्रतर्फ सारिएको छ।
ठूलो सुनामी उत्पन्न गर्ने सम्भावना
अमेरिकी सुनामी चेतावनी केन्द्रहरूका अनुसार रूस र इक्वेडरमा तीन मिटरसम्म अग्ला छालहरू आउन सक्नेछ।
त्यस्तै, हवाई,चिली,पेरु,कोस्टारिका,जापान र केही प्रशान्त महासागरका टापुहरूमा एकदेखि तीन मिटरसम्मका छालहरू आउने सम्भावना रहेको जनाएको छ।
यो भूक्षेत्र सबडक्शन जोन (एक प्रकारको भौगोलिक संरचना) मा परेकोले ठूलो सुनामी उत्पन्न हुने सम्भावना हुन्छ ।
अमेरिकी राष्ट्रिय मौसम सेवाले हवाई राज्य, अलास्काको एल्युटियन टापुहरू,क्यालिफोर्नियाका केही भागका लागि सुनामी चेतावनी जारी गरेको छ।
त्यस्तै वासिंगटन र ओरेगन राज्यका केही भागहरूमा कम स्तरको सुनामी सल्लाह दिइएको छ। यी छालहरू बुधबार अपराह्नपछि आउन सक्ने अनुमान गरिएको छ।
अमेरिकी पश्चिमी तटको पूरै भागका लागि कम गम्भीर स्तरको सुनामी चेतावनी जारी गरिएको छ।
हवाईको होनोलुलु आपतकालीन व्यवस्थापन विभागले तटीय क्षेत्रका केही बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आह्वान गरेको छ।
सुनामी बारम्बार आउन सक्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई, अलास्का र प्रशान्त तटीय क्षेत्रहरूमा रहेका बासिन्दाहरूलाई सुनामी सम्बन्धी सल्लाहहरूलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्।
जापानी अधिकारीहरूले भनेका छन् कि केही तटीय क्षेत्रमा ३ मिटर सम्म अग्ला छालहरू आउने अपेक्षा गरिएको छ।
जापान मौसम विज्ञान एजेन्सीले वक्तव्य जारी गर्दै तटीय क्षेत्र वा नदी किनारमा बसोबास गर्ने मानिसहरूले तुरुन्तै उच्च भूभाग वा सुरक्षित भवनतर्फ जान र चेतावनी नहटाइएसम्म सुरक्षित स्थान नछोड्न भनेको छ ।
जापानका प्रधानमन्त्री शिगेरु इसिबाले प्रभावित क्षेत्रका नागरिकहरूलाई छिटोभन्दा छिटो सुरक्षित स्थानमा जान आह्वान गरेका छन्।
जापानी सञ्चारमाध्यमहरूले बुधबार बिहान उत्तरी जापानी टापु होक्काइडोमा १ फिट अग्ला पहिला छालहरू आइपुगेको रिपोर्ट गरेका छन्।
तर जापानको आगो र विपद् व्यवस्थापन एजेन्सीले अहिलेसम्म कुनै क्षति वा घाइतेको रिपोर्ट नभएको जानकारी दिएको छ।

