
उर्लाबारी । मोरङ मोडल कलेजले शनिबार विद्यार्थी स्वागत र विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । उर्लाबारी–४ स्थित बशिष्ट रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई आत्मीय स्वागत गरिएको थियो भने, बिबिएस उत्तीर्ण गरेर कलेजबाट बिदा लिएका विद्यार्थीलाई सम्मानपूर्वक विदाई गरिएको थियो ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले गुणस्तरीय शिक्षासँगै संस्कारयुक्त शिक्षाको आवश्यकता औंल्याउनुभयो । उहाँले शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षको साझा प्रयासले मात्र शिक्षामा सुधार हुने बताउनुभयो ।
कलेजका अध्यक्ष अमृतकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, प्याब्सन उर्लाबारीका अध्यक्ष सूर्य पौडेल, विद्यालयका प्रिन्सिपल मात्रिकाप्रसाद खतिवडा, कलेजका प्रिन्सिपल हेमन्त गौतमलगायतका अतिथिहरूले शिक्षाको महत्वबारे आफ्ना धारणा राख्नुभएको थियो ।
सो अवसरमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । साथै, विद्यालयका पूर्व प्रिन्सिपल सन्दिप पौडेल, शिक्षक योगेन्द्र बस्नेत र सवारी चालक अमर कटुवाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गायन र सांगीतिक प्रस्तुतीले वातावरणलाई उत्साहपूर्ण बनाएको थियो । कलेजले आयोजना गरेको यस कार्यक्रममा शिक्षा र संस्कारलाई समानान्तर अघि बढाउनुपर्ने सन्देश दिएको छ ।