रतुवामाई। मोरङको रतुवामाई नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुको अनुगमन नगर शिक्षा समितिले सम्पन्न गरेको छ । अनुगमन प्रतिवेदन तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको र सो प्रतिवेदनका आधारमा पहिलो चरणमा विद्यार्थी संख्या न्यून भएका करिब ५ देखी ७ वटा विद्यालयलाई मर्ज गर्ने तयारी भइरहेको नगर प्रमुख नागेश्वरप्रसाद सिंहले जानकारी दिनुभएको छ । उहाँका अनुसार केही आधारभुत विद्यालयमा बालकक्षा मात्र सञ्चालन गर्नेगरि पनि नगरपालिकाले छलफल गरिरहेको छ ।

नगर प्रमुख सिंहका अनुसार विद्यार्थी संख्या घट्दै गएको र विद्यालय सञ्चालनमा निरन्तर समस्या देखिएका कारण मर्ज गर्ने निर्णय लिन लागिएको हो । उहाँले विद्यालय मर्ज गर्ने प्रक्रिया शिक्षाको पहुँचमा कुनै असर नपर्ने तर शैक्षिक गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “हामीले विद्यालय संख्या भन्दा पनि विद्यार्थीको शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेका छौँ,” सिंहले भन्नुभयो, “त्यसैले आवश्यक देखिएका विद्यालयलाई एकीकृत गर्दै स्रोत साधनलाई व्यवस्थित गर्ने योजना बनाएका छौँ ।”

अनुगमनको क्रममा विद्यालयमा देखिएका विभिन्न चुनौती र सुधार आवश्यकतासमेत प्रतिवेदनमा समेटिने जनाइएको छ । विशेषगरी, विद्यार्थी उपस्थितिमा गिरावट, भौतिक पूर्वाधारको कमी, शैक्षिक सामग्री र दक्ष शिक्षकको अभाव प्रमुख समस्या रहेको पाइएको छ । नगरपालिकाले आगामी दिनमा भौतिक संरचना, दक्ष जनशक्ति र आधुनिक शैक्षिक पद्धतिमा जोड दिँदै विद्यालयको स्तर उकास्ने प्रतिबद्धता जनाएको छ ।

नगरपालिका स्रोतका अनुसार विद्यालय मर्ज भएपछि स्रोत साधन र जनशक्ति व्यवस्थापन सहज हुने र विद्यार्थीले राम्रो वातावरणमा अध्ययन गर्ने अवसर पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय