१० साउन । कम्बोडियाली अधिकारीहरूले थाईल्यान्डसँग जारी सीमावर्ती विवादका कारण थप १२ जनाको मृत्यु भएको रिपोर्ट गरेका छन्। यससँगै दुवै पक्षमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । यस घटनाले दक्षिणपूर्वी एसियाली छिमेकी राष्ट्रहरू दीर्घकालीन द्वन्द्वमा फस्ने डर बढेको छ ।
कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयकी प्रवक्ता माली सोचेताले शनिबार पत्रकारहरूसँग थप ७ जना सर्वसाधारण र ५ जना सैनिकको मृत्यु जानकारी गराएकी छिन । यसअघि बिहीबार थाईल्यान्डबाट प्रहार गरिएको रकेट बौद्ध गुम्बामा लाग्दा लुकेर बसेका एक कम्बोडियाली पुरुषको मृत्यु भएको थियो।
कम्बोडियाका प्रवक्ताले जनाए अनुसार कम्तीमा ५० जना कम्बोडियाली सर्वसाधारण र २० भन्दा बढी सैनिक घाइते भएका छन् ।
थाईल्यान्डले पछिल्ला दुई दिनको भिडन्तमा १३ जना सर्वसाधारण जसमा केही बालबालिका र ६ जना सैनिकको मृत्यु भएको जनाएको छ। कम्बोडियाको आक्रमणमा थप २९ जना थाई सैनिक र ३० जना सर्वसाधारण घाइते भएका छन्।
कम्बोडियाको समाचार पत्र द खमेर टाइम्स ले जनाए अनुसार थाईल्यान्डसँगको उत्तर सीमाबाट हालसम्म २० हजार जना बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
थाई अधिकारीहरूका अनुसार थाई सीमावर्ती क्षेत्रहरूबाट १ लाख ३८ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ र करिब ३ सय वटा उद्धार केन्द्रहरू स्थापना गरिएको छ। शुक्रबार थाईल्यान्डले कम्बोडियासँगको सिमा नजिकका आठ जिल्लाहरूमा मार्शल लअ घोषणा गरेको थियो।
थाईल्यान्ड र कम्बोडियाको सीमाक्षेत्र वरिपरि केन्द्रित यो विवाद दशकौ पुरानो हो । बिहीबार जब सिमानामा भएको भूमिगत सुरुङ बम विस्फोटमा पाँच जना थाई सैनिक घाइते भए तब पुन यो विवाद चर्कियो ।

