उर्लाबारी,
उर्लाबारी वडा नम्बर ३ मंगलबारेमा लागुऔषध ओसारपसारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ३७ वर्षीय सोनाम तामाङ उर्फ सान्नानीलाई प्रहरीले मलद्वारमा लुकाइराखेको अवस्थामा ८ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासको नेतृत्वमा खटिएको टोलीले तामाङलाई आइतबार बिहान मंगलबारे चोकमा पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको थियो। चिकित्सकको सहयोगमा खानतलासी गर्दा तामाङको मलद्वारबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरी निरीक्षक दासले जानकारी दिए।
बरामद गरिएको प्लास्टिकको पोकामा ४ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर रहेको थियो। प्रहरीले तामाङविरुद्ध लागुऔषध ओसारपसार तथा कारोबार मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको छ।
उर्लाबारी प्रहरीले पछिल्लो समय लागुऔषध विरुद्धको अभियानलाई थप सशक्त बनाउँदै आएको छ। यसअघि पनि मंगलबारे क्षेत्रमा प्रहरीको निगरानीमा रहेका विभिन्न व्यक्तिहरूबाट ब्राउन सुगरसहित पक्राउ परेका थिए। प्रहरी निरीक्षक दासले उर्लाबारीलाई लागुऔषधमुक्त नगर बनाउन प्रतिबद्ध रहेको जनाउँदै यस्तो अवैध गतिविधिमा संलग्न जोसुकैलाई पनि कानूनी कारबाही गरिने चेतावनी दिए।
“उर्लाबारीलाई लागुऔषधमुक्त बनाउने हाम्रो अभियान निरन्तर जारी छ। कुनै पनि हालतमा अवैध लागुऔषध ओसारपसार र प्रयोगलाई हामी सहने छैनौं,” प्रहरी निरीक्षक दासले भने।

