उर्लाबारी, मोरङ — उर्लाबारी–२ स्थित सुनपकुवा माध्यमिक विद्यालयका नयाँ प्रधानाध्यापक यादवप्रसाद भण्डारीलाई पदबाट हटाउन कडा दबाब सिर्जना भएको खुलासा भएको छ। विद्यालय व्यवस्थापन समितिले सिनियरका आधारमा नियुक्त गरेको भण्डारीलाई विभिन्न राजनीतिक दबाबका कारण पदबाट हट्न बाध्य पार्ने प्रयास भइरहेको बुझिएको छ।
विद्यालयका पूर्व प्रधानाध्यापक केशब खड्काको राजीनामापछि प्रधानाध्यापक नियुक्त भएका भण्डारीलाई उर्लाबारी नगर शिक्षा समितिका सदस्य पूर्णप्रसाद घिमिरे र नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोलाको नेतृत्वमा दबाब दिइँदै आएको स्रोतले बताएको छ। उनीहरूले एमाले समर्थक प्रेमप्रकाश कोइरालालाई प्रधानाध्यापक बनाउने उद्देश्यले बारम्बार विद्यालय व्यवस्थापन समितिलाई दबाब दिइरहेका छन्। स्रोतका अनुसार, विद्यालयमा शिक्षा सुधारभन्दा पनि राजनीति चलखेल भइरहेको छ, जसले विद्यालयको शैक्षिक वातावरणमा प्रतिकूल प्रभाव पार्ने सम्भावना छ।
नगरप्रमुख गंगाप्रसाद खरेलले सामुदायिक विद्यालयमा कसैलाई राजनीति चलखेलको छुट नभएको बताउँदै यदि दबाब सिर्जना भएको छ भने ‘एक्सन’ लिने प्रतिबद्धता व्यक्त गरेका छन्। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्लेले भने यसबारे कुनै जानकारी नभएको दाबी गरेका छन्।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष टिकाकुमारी भट्टराई (शिला) ले चौतर्फी दबाबका कारण विद्यालयको प्रगति अवरुद्ध भएको बताउँदै प्रधानाध्यापकलाई मानसिक दबाब सिर्जना गरी काम गर्न असहज परिस्थिति बनाइएको गुनासो गरेकी छिन्। यसअघि प्रधानाध्यापक खड्कालाई समेत मानसिक दबाब दिइएको कारणले उनी दुई पटक सम्पर्क विहीन भएका थिए, जसका कारण अन्ततः उनले राजीनामा दिएका थिए।
प्रधानाध्यापक पदमा राजनीतिक हस्तक्षेप र लगातारको दबाबले विद्यालयको शिक्षा सुधार प्रक्रिया अन्योलमा पर्नुका साथै शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पार्ने निश्चित देखिएको छ।

