उदयपुर, – त्रियुगा नगरपालिका–१३ का ४५ वर्षीय महादेव चौधरीको बुधवार साँझ मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। उहाँ आफ्ना दुई छोरालाई पछाडि बसाएर गाईघाटबाट घर फर्किंदै गर्दा मदन भण्डारी स्मृति लोकमार्ग अन्तर्गत दनुवारी चोकमा विपरीत दिशाबाट आउँदै गरेको ट्याक्टरसँग ठक्कर खाँदा दुर्घटना भएको हो।
घटनामा महादेव चौधरीको घटनास्थलमै मृत्यु भएको छ भने उनका १५ वर्षीय दिवाकर चौधरी र १० वर्षीय कृष्ण चौधरी घाइते भएका छन्। प्रहरीका अनुसार, घाइते बालकहरूलाई जिल्ला अस्पताल उदयपुरमा प्राथमिक उपचार दिइएको र थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल पठाइएको छ।
दुर्घटनामा संलग्न ट्याक्टर र मोटरसाइकललाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।
उदयपुरका स्थानीयवासी र प्रहरी प्रशासनले यस घटनाबाट सवारी दुर्घटनामा पर्ने जोखिमलाई कम गर्न सडक सुरक्षा उपायहरू थप कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

