मोरङको उर्लाबारी नगरपालिका–५ स्थित अरनिको अस्पतालमा सीटी स्क्यान सेवा सुरु भएको छ। आइतबार एक विशेष समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले उक्त सेवाको उद्घाटन गरेका हुन्।

उर्लाबारीसहित रतुवामाई, मिक्लाजुङ, कानेपोखरी, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलवारी, झापा (दमक, गौरादह) र इलाम (चुलाचुली) का बिरामीलाई लक्षित गरी अस्पतालले सीटी स्क्यान सेवा सुरु गरेको हो। यो सेवा थपिएसँगै पूर्वी मोरङ, झापा, र इलामका बिरामीहरूले स्थानीय स्तरमै स्तरीय उपचार सेवा पाउनेछन्।

उद्घाटन समारोहमा रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर प्रसाद सिंह, नेपाली कांग्रेस झापा जिल्ला सभापति देउमान लिम्बू, राजेन्द्र केरुङ, नेपाली कांग्रेस उर्लाबारीका सभापति सुरेन्द्र लिम्बू, राकेश पोमु लिम्बू, अस्पतालका डाक्टर सन्दीप अधिकारी, रञ्जित पोमु, बालकृष्ण लाबुङ लगायत समाजसेवी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदिप पौडेलले नीजी क्षेत्र संग सहकार्य गरेर यस क्षेत्रलाई अझ प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो।
करिब ४ करोड रुपैयाँको लागतमा भित्र्याइएको आधुनिक सीटी स्क्यान मेसिनले शरीरका तन्तु, रक्तनली, हड्डी, मांसपेशी, पेटसम्बन्धी समस्या, क्यान्सर, मुटु रोग तथा अन्य आन्तरिक चोटपटकको विस्तृत जाँच गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
वि.सं. २०७१ साल जेठ १५ गतेदेखि सञ्चालनमा रहेको अरनिको अस्पतालमा ५० शय्यायुक्त सुविधा छन ।
सीटी स्क्यान सेवाको सुरुवातसँगै अब पूर्वी मोरङ, झापा र इलामका बिरामीहरूलाई टाढा जानुपर्ने झन्झट हटेको छ । गुणस्तरीय सेवा स्थानीय स्तरमै पाउने भएपछि सर्वसाधारणले राहत महसुस गरेका छन्।
अस्पतालका अध्यक्ष लोलिम पोमु लिम्बू को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संचालन भने संचारकर्मी घनश्याम भण्डारीले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय