
उर्लाबारी,
मोरङको उर्लाबारी नगरपालिकाले दुई वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको छ । जसका लागि जिल्ला समन्वय समिति मोरङले आज बालमैत्री घोषणाका लागि तयार रहेका वडा नंं १ र ६ को अनुगमन सम्पन्न गरेको छ । जिसस मोरङका प्रमुख अजम्बर राईको नेतृत्वको टोलीले दुई वटै वडामा बालमैत्रीका सूचकहरु कार्यान्वयन भए नभएको विषयमा अनुगमन गरेको हो । अनुगमन समितिले वडाका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतमा बालमैत्री शासन अबलम्बन भए नभएको विषयमा अनुगमन गरेको हो । 

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको अन्तिम तयारी गरेको उर्लाबारी नगरपालिकाले बालमैत्रीका विभिन्न ५१ सूचकमा काम सम्पन्न गरेर घोषणा गर्ने तयारी गरेको कार्यवाहक नगर प्रमुख मीना खतिवडा पौडेलले बताउनुभयो । सो अवसरमा उहाँले आगामी वर्ष उर्लाबारीका थप चार वडालाई बालमैत्री घोषणा गर्ने गरी कार्यक्रम अघि बढाउने योजना रहेको बताउनुभयो ।
अनुगमनका क्रममा जिसस प्रमुख राईले बालमैत्रीका सूचकहरु पूरा गर्न नगरपालिकाले गरेको मेहनतको प्रशंसा गर्नुहुँदै सूचकहरुका क्षेत्रमा दीर्घकालिन सोच समेत बनाएर अगाडि बढ्न निर्देशन दिनुभयो । जिसस उपप्रमुख उषा झाले वडाहरुलाई बालमैत्री घोषणा गर्दै त्यसको निरन्तरताका लागि दीर्घकालिन योजनाका साथ काम गर्न सुझाव दिनुभयो । बालमैत्री वडाका लागि वडाले गरेका प्रयासका बारेमा वडा नं. १ का वडाध्यक्ष तिलक पाण्डे र वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालले जानकारी गराउनुभएको थियो ।
बालमैत्री घोषणाका लागि नगरपालिकाले विभिन्न चरणका गतिविधिहरु सञ्चालन गरी ५१ वटा सूचक पूरा गरेको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाले जानकारी गराउनुभयो । अनुगमनमा जिल्ला समन्वय अधिकारी गिरीराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, जिससका इन्जिनियर सुवास राई, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, स्वास्थ्य शाखा प्रमुख सुरेश खड्का, जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिना, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक मचिन्द्र लिम्बू, वडाका जनप्रतिनिधि लगायतको सहभागिता थियो ।