विराटनगर । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा रोहित कोइराला चयन भएका छन् । दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनबाट कोइराला अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले ४२ सदस्यीय कमिटी गठन गरेकाे छ । कमिटीकाे उपाध्यक्षमा झापाका भिम लिबाङ्ग, महिला उपाध्यक्षमा धनकुटाकी सृजना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा झापाका सुरज साँवा, उदयपुरका कर्ण थापा र कोषाध्यक्षमा सुनसरीका सुरेश गिरी चयन भएकाे महासंघका केन्द्रीय सचिव विप्लव घोषले जानकारी दिए । नवनिर्वाचित कमिटीमा प्रदेशका विभिन्न जिल्ला र खेलसंघका प्रतिनिधिहरूको सहभागिता रहेको उनले बताए ।
अधिवेशनलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले जनस्तरबाट उठ्ने खेलकुद क्षेत्रका एजेण्डा र खेलक्षेत्रको उत्थानको लागि काम गर्न निर्देशन दिए । बस्नेतले महासंघ एमालेको जनसंगठन भएकोले संगठनमा आवद्धहरूले खेलक्षेत्रमा कार्य गर्दै पार्टीको नीति र नेतृत्वको रक्षा र प्रचारमा लाग्नु पर्ने बताए ।अधिवेशनमा एमाले केन्द्रीय कमिटी सदस्य रोमनाथ ओली, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

