१२ साउन। इङ्ग्ल्यान्ड दोस्रोपटक लगातार युरोपेली च्याम्पियन बन्न सफल भएको छ। गएराती भएको महिला युरो २०२५ को फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इङ्ल्याण्डले उपाधि उचालेको हो ।
इङ्ल्यान्डले २०२२ मा जितेको उपाधिको सफलतापूर्वक रक्षा गर्दै यसपटक पनि उपाधि कायम राख्न सफल भयो । विश्व च्याम्पियन स्पेनसँग १२० मिनेटको थकाउने फाइनल खेलमा १-१ को बराबरीपछि इङ्ग्ल्यान्डले टाइब्रेकरमा ३-१ को जित दर्ता गर्यो। टाइब्रेकरमा स्पेनको २ प्रहार इंग्ल्याण्ड गोलरक्षक हाना हाम्पटनले बचाइन् । टाइब्रेकरमा निर्णायक बनिन् क्लो केली जसले सन् २०२२ को फाइनलमा पनि निर्णायक गोल गरेकी थिइन्। यसपटक उनले अन्तिम प्रहारमा गोल गर्दै २०२३ विश्वकप फाइनलमा स्पेनसँगको हारको बदला लिइन्। मिशेल अग्येमाङले पनि त्यत्तिकै प्रभाव जमाइन्। उनले क्वार्टरफाइनल र सेमिफाइनलमा निर्णायक गोल गरेपछि टुर्नामेन्टको उत्कृष्ट युवा खेलाडीको उपाधि जितिन्।
यद्यपि त्यो पुरस्कारभन्दा पनि उनको घाँटीमा झुण्डिएको स्वर्णपदक अझ गह्रौँ अर्थ राख्छ।
यो ऐतिहासिक खेल स्विट्जरल्याण्डको बासेलस्थित सेंट याकब पार्कमा सम्पन्न भएको थियो।
खेलको २५औं मिनेटमा मारिओना काल्देन्तेले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । ५७औं मिनेटमा इंग्ल्याण्डकी अलेसिया रुसोले बराबरी गोल गरिन् ।
त्यसपछि गोल नहुँदा खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो । इंग्ल्याण्डले पहिलोपटक विदेशी भूमिमा ठूलो उपाधि जितेको हो ।

