उर्लाबारी,
राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले विद्युत आपूर्ति नियमित गराउन माग गरेको छ । आज नेपाल विद्युत प्राधिकरण उर्लाबारी वितरण केन्द्रका निमित्त प्रमुखलाई ध्यानकर्षण पत्र बुझाउँदै युवा संघले विद्युत् आपूर्ति नियमित गराउन माग गरेको हो । पछिल्लो समय उर्लाबारी तथा आसपासका क्षेत्रहरुमा विद्युत प्रवाह अनियमित हुदै आएसँगै जनस्तरबाट चर्को विरोध हँुदै आएको छ ।
विद्युतभार कटौती अन्त्य भएको लामो समय भइसक्दासमेत बारम्बार अघोषित रुपमा विद्युत् कटौती भइरहेकोले ध्यानाकर्षण गराइएको राष्ट्रिय युवा संघ नगर कमिटी संयोजक नित्तम चौहानले बताउनुभयो । गर्मीको समयमा बिनासूचना विद्युत काटिँदा जनजीवन प्रभावित भएको भन्दै पटक पटक बत्ती जाने समस्या समाधान गरी विद्युत् आपूर्ति नियमित बनाउन माग गरिएको उहाँले बताउनुभयो ।
युवा संघका केन्द्रीय सदस्य तथा उर्लाबारी–३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, नगर संयोजक चौहान, सचिव शम्भु गौतमलगायतले वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख विनोदकुमार साहलाई ध्यानकर्षण पत्र बुझाएका हुन् । सो अवसरमा निमित्त प्रमुख साहले विद्युत अवरोध हुनुका कारणहरु औँल्याउँदै आगामी दिनमा थप जिम्मेवार भई सेवा प्रवाह गर्न प्राधिकरण प्रतिबद्ध रहेको बताउनुभयो ।

