झापा । झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रतुवा खोलाको पुलमुनि शंकास्पद अवस्थामा फेला परेकी महिलाको पहिचान अझै खुल्न सकेको छैन। शव फेला परेको दुई दिन बितिसक्दा पनि मृतक को हुन् भन्ने विषयमा प्रहरीलाई कुनै ठोस जानकारी प्राप्त हुन नसकेको हो।
हिजो सनिवार बिहान खोलामा बगिरहेको पानीमा सेतो प्लास्टिकको बोराभित्र प्याक गरिएको अवस्थामा महिलाको शव फेला परेको थियो। रातो भेस्ट लगाएकी अन्दाजी २५ वर्षीया महिलाको शव २–३ दिनअघि नै त्यहाँ ल्याएर फालिएको हुनसक्ने अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको भए पनि हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन। घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको टोलीसहित प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान भइरहेको छ।
प्रहरीले सार्वजनिक गरेको तस्वीरमा मृतकको बायाँ हातमा ट्याटु देखिएको छ। सोही आधारमा पहिचान खुल्ने अपेक्षा गरिए पनि अहिलेसम्म कुनै नतिजा प्राप्त नभएको प्रहरीको भनाइ छ।
घटनाको प्रकृति शंकास्पद देखिएकाले हत्या गरेर शव बोरामा प्याक गरी खोलामा फालिएको हुनसक्ने आशंकासमेत गरिएको छ। यद्यपि पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानको निष्कर्ष नआएसम्म घटनाबारे यकिन भन्न नसकिने प्रहरीले जनाएको छ।
मृतकलाई चिन्न सक्ने आफन्त, साथीभाइ वा चिनजानका व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा प्रहरीको सम्पर्क नम्बर १००, ९८५२६९०६०९, ९८५२६९००३९ र ९८५२६९०२३२ मा जानकारी दिन आग्रह गरिएको छ।
महिलाको पहिचान नखुल्दा घटनाको रहस्य झन् गहिरिँदै गएको छ भने स्थानीयवासीमा समेत चासो र त्रास बढेको छ। प्रहरीले घटनाको सबै कोणबाट अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय