सरोज बस्नेत
उर्लाबारी । पछिल्लो समय पत्रकारिता क्षेत्रमा वितरण गरिने पुरस्कार तथा सम्मानमाथि प्रश्न उठ्न थालेका छन् । वर्षेनी राजनीतिक पहुँच, गुटगत भागबन्डा र निकटताको आधारमा “सम्मान” बाँडिने प्रवृत्ति बढ्दै गएको भन्दै अग्रज पत्रकारहरूले असन्तुष्टि जनाउन थालेका हुन् ।
पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरूको योगदानभन्दा सत्ता निकट व्यक्तिहरूलाई प्राथमिकता दिइने अवस्था बढ्दै जाँदा वास्तविक पत्रकारहरू ओझेलमा परेको गुनासो सुनिन थालेको छ । विरोध गर्नेहरू नै केही समयपछि पुरस्कार थाप्ने दृश्य अब सामान्यजस्तै बनेको भन्दै धेरै पत्रकारले यसलाई “सम्मानको नाममा नाटक” को संज्ञा दिएका छन् ।
विशेषगरी पूर्वी मोरङका केही अग्रज पत्रकारहरू ७० वर्ष उमेर पार गरिसक्दा पनि निरन्तर पत्रकारितामा सक्रिय छन् । गाउँदेखि शहरसम्मका जनताका समस्या, आवाज र मुद्दालाई निरन्तर उठाइरहेका ती पत्रकारहरू न पदको दौडमा छन्, न त पुरस्कारको अपेक्षामा । उनीहरूको एउटै लक्ष्य पत्रकारिताप्रतिको समर्पण र सामाजिक उत्तरदायित्व रहेको बताइन्छ ।
तर विडम्बना, पहुँच र सिफारिस गर्ने व्यक्ति नहुँदा यस्ता अग्रज पत्रकारहरूको योगदान राज्यको नजरबाट टाढा रहने गरेको टिप्पणी गरिएको छ । पत्रकारिता क्षेत्रमा दशकौँ बिताएका व्यक्तिहरू सम्मानबाट वञ्चित हुँदा नयाँ र पहुँचका आधारमा अघि बढेकाहरू पुरस्कृत हुने प्रवृत्तिले पुरस्कारको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ ।
पत्रकारहरूका अनुसार प्रादेशिक पत्रकारिता पुरस्कार साँच्चिकै योगदानका आधारमा वितरण गर्ने हो भने राजनीतिक आस्था, गुट वा पहुँच होइन, पत्रकारितामा पुर्‍याएको योगदान, संघर्ष र निरन्तरताको मूल्यांकन हुन आवश्यक छ ।
“जिन्दगीभर सत्यको पक्षमा कलम चलाउने पत्रकारहरूलाई राज्यले सम्मान गर्न सकेन भने पुरस्कारको अर्थ नै रहँदैन,” एक अग्रज पत्रकारले बताए ।
कोशी प्रदेश सरकारले अब कम्तीमा पत्रकारिता क्षेत्रको वास्तविक योगदानको मूल्यांकन गर्दै निष्पक्ष ढंगले पुरस्कार वितरण गर्नुपर्ने माग उठ्न थालेको छ । अन्यथा “सम्मान” शब्दप्रतिको जनविश्वास नै क्रमशः कमजोर हुँदै जाने चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय