। पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । यसको औपचारिक घोषणा आज अपराह्न ३ बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिने भएको छ ।
किराती पक्षले यसलाई ‘पार्टी एकता’ को रूपमा व्याख्या गरेको छ । किरातीको सचिवालयका एक सदस्यका अनुसार श्रम संस्कृति पार्टीसँग पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेको छ र त्यसबारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक जानकारी दिइनेछ ।
भोजपुरका नेता सुदन किराती पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन् । उनी यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनेका थिए । जेनजी आन्दोलनपछि पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेताहरूबीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि त्यसप्रति असहमति जनाउँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा सक्रिय भएका थिए ।
माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा को पहलमा गठन भएको प्रलोपामा किराती पाँच सदस्यीय अध्यक्ष परिषद्का सदस्य थिए । तर फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले एक सिट पनि जित्न नसकेपछि प्रलोपा कमजोर अवस्थामा पुगेको थियो ।
यसबीच सुदन किरातीको श्रम संस्कृति पार्टीमा प्रवेशलाई नयाँ राजनीतिक समीकरण र वैकल्पिक शक्तिको खोजीका रूपमा समेत हेरिएको छ ।

