उर्लाबारी । उर्लाबारी परिवर्तनशील युवा क्लबको आयोजनामा उर्लाबारी–८, दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा एकसय भन्दा बढी सेवाग्राहीहरूले आँखा जाँच तथा परामर्श सेवा लिएका छन्।
“दृष्टि जोगाऔं, उज्यालो संसार नियालौं” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमार्फत आँखासम्बन्धी समस्या पहिचान, आवश्यक परामर्श तथा प्राथमिक उपचार सेवा प्रदान गरिएको क्लबले जनाएको छ।


क्लबकी अध्यक्ष गरिमा ढुंगानाले अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, स्वास्थ्यकर्मी तथा सहभागीप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। साथै, यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो।

