उर्लाबारी । उर्लाबारी खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको आगामी नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदवार महेन्द्र कार्कीले आफ्नो विस्तृत घोषणापत्र सार्वजनिक गर्नुभएको छ । “सस्तो जडान, कम शुल्क — सबैको पहुँचमा पानी” भन्ने नारासहित सार्वजनिक गरिएको वाचापत्रमा उहाँले उपभोक्तामैत्री, पारदर्शी र दिगो खानेपानी व्यवस्थापनमा जोड दिनुभएको छ ।
कार्कीले सबैभन्दा पहिले सस्तो र सहज धारा जडानलाई प्राथमिकता दिने बताउनुभएको छ । उहाँका अनुसार जडान शुल्क न्यूनतम बनाइने, नयाँ धारा जडान ७ दिनभित्र सम्पन्न गरिने तथा गरिब र विपन्न परिवारलाई विशेष छुटको व्यवस्था गरिनेछ ।
त्यसैगरी, मासिक महसुल घटाउनेतर्फ अनावश्यक खर्च कटौती गरी शुल्क कम गर्ने, न्यून आय भएका परिवारका लागि सहुलियत दर लागू गर्ने र समयमै बिल भुक्तानी गर्ने उपभोक्तालाई प्रोत्साहन दिने योजना अघि सारिएको छ ।
उहाँले २४ घण्टा स्वच्छ र भरपर्दो पानी आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै नियमित गुणस्तर परीक्षण तथा आपतकालीन पानी आपूर्ति व्यवस्था गर्ने उल्लेख गर्नुभएको छ ।
संस्थालाई पारदर्शी र इमानदार बनाउनेतर्फ आम्दानी–खर्च नियमित सार्वजनिक गर्ने, निर्णय प्रक्रियामा उपभोक्ताको सहभागिता सुनिश्चित गर्ने र भ्रष्टाचार तथा अनियमितता पूर्ण रूपमा अन्त्य गर्ने योजना पनि उहाँले अघि सार्नुभएको छ ।
चुहावट नियन्त्रणका लागि पाइपलाइन मर्मत तथा विस्तार, पुराना संरचनाको आधुनिकीकरण र विशेष अभियान सञ्चालन गरिने बताइएको छ । त्यस्तै, डिजिटल सेवातर्फ अनलाइन बिल भुक्तानी, मोबाइलबाट गुनासो दर्ता तथा सूचना प्रणाली विस्तार गरिनेछ ।
सेवामा सुधार ल्याउन २४ घण्टा गुनासो समाधान सेवा, सेवा केन्द्र विस्तार र कर्मचारीलाई थप जिम्मेवार बनाउने योजना रहेको छ । साथै सरसफाइ र स्वास्थ्य क्षेत्रमा स्वच्छता अभियान, पानीजन्य रोग न्यूनीकरण तथा जनचेतना कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
दीर्घकालीन योजनाअन्तर्गत नयाँ पानी स्रोतको खोजी, भण्डारण ट्यांकी विस्तार तथा दिगो पूर्वाधार विकासमा जोड दिइएको छ । “सेवा पहिलो, राजनीति पछि” भन्ने मूल मन्त्रसहित सबै उपभोक्तालाई समान व्यवहार गर्ने प्रतिबद्धता पनि कार्कीले व्यक्त गर्नुभएको छ ।
यसैगरी, कुनै पनि सेवाग्राही नछुट्ने गरी मतदाता विवरण व्यवस्थापन तथा आवश्यक प्राविधिक कार्यहरू सम्पन्न गरिने योजना समेत समेटिएको छ ।
उम्मेदवार कार्कीले “महँगो होइन, सहज सेवा” र “पानी सेवा सबैका लागि” भन्ने प्रतिबद्धतासहित आफूलाई मतदान गर्न उपभोक्तासँग अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय